धनगढी । सुदूरपश्चिम प्रदेशको भावि मुख्यमन्त्रीमा पुर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रबल सम्भावना रहेको बताइएको छ । आधिकारीक निर्णय नभइरसकेको अवस्थामा नेताहरुको काठमाडौंमा निकै दौडधुप चलिरहँदा देउवाको बलियो सम्भावना रहेको जनाइएको छ ।
पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुर सिंह थापा गरी ३ जना मुख्यमन्त्रीका दाबेदार छन् ।
चार जनामध्ये प्रकाश देउवाको सम्भावना बलियो रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफल गरेर फर्किएका प्रदेश सभा सदस्य प्रकाश बमले मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको सम्भावना बलियो रहेको सुनाए । तर पार्टी सभापति देउवाको आधिकारिक निर्णय भने आउन बाँकी रहेको उनको भनाइ छ । प्रकाश देउवा सभापति देउवाका भतिजासमेत हुन् ।
तर निवर्तमान मुख्यमन्त्री समेत रहेका शाहले हालसम्म कुनै निर्णय नभएको र माहोल आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । दलको नेता समेत आफू नै रहेकाले आफ्नो पक्षमा निर्णय हुनेमा आशावादी रहेको उनले सुनाए ।
शाह बाहेकलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको अवस्थामा संसदीय दलको जिम्मेवारी पनि फेरबदल हुने बताइएको छ । शुक्रबार नै कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक समेत आह्वान गरिएको छ । सोही बैठकबाट सबै जिम्मेवारी तय हुने बताइएको छ ।
सुदूरपश्चिम संसदीय दलभित्र प्रकाश देउवा प्रभावशाली मानिन्छन् । शक्ति केन्द्र निकट मानिने उनको पक्षमा बहुमत सदस्य रहेको बताइएको छ । उनी कैलाली निर्वाचन क्षेत्र नं। ५ ९२० बाट निर्वाचित भएका हुन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । यहाँ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी ९रेशम पक्ष०को संयुक्त सरकार बन्ने देखिएको छ ।
यसैबिच शुक्रबार नै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री सोडारीले पठाएको पत्रका आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
असार १७ गते एमाले र काग्रेसबिच भएको राजनीतिक सहमतिपछि सोडारी नेतृत्वको सरकारमा रहेको एमाले बाहिरिएको थियो । त्यस यता सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हुँदा कांग्रेसभित्र प्रदेश सरकारको नेतृत्वका लागि दौडधुप बढेको हो ।

प्रतिकृया दिनुहोस्