धनगढी । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका दर्जनौँ बस्ती डुबानमा परेका छन् । धनगढी उपमहानगरको बजार क्षेत्रका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र, त्रिबेनि चोक, शैलेशवरी क्याम्पस, शिवनगर, क्याम्पस रोड, रातो पुल, हसनपुर, तारानगर, विशालनगर, शिक्षा टोल, श्रीलंकालगायतका बस्तीका कैयौँ घरमा पानी पसेको छ । कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार धनगढीका मात्रै हजार बढी घरमा पानी पसेको छ ।
प्रशासन कार्यालयका अनुसार डुबानमा परेर फसेका धनगढी उपमहानगरपालिका– ७, बेलीगाउँका सात जना र धनगढी– १३, श्रीलंकाका चार जना गरी ११ जनाको उद्धार गरिएको छ ।
यस्तै, धनगढीमै रहेको सेती प्रादेशिक अस्पतालमा पनि पानी पसेको छ । अस्पतालले स्वीपर लगाएर पानी फालिरहेको जनाएको छ । यस्तै, प्रदेशको स्थायी राजधानी घोषणा भएको गोदावरीका पनि थुप्रै बस्ती डुबानमा परेका छन् ।

प्रतिकृया दिनुहोस्