काठमाडौँ । ‘हरेक नेपाली दैनिक घरबाट फिल्डमा निस्किन्छन्, यसमध्ये ७ जना घर फर्किन पाउँदैनन् ।’ कारण नेपालका सडकहरू अहिले केवल यात्राको माध्यम मात्र रहेका छैनन्, ती ‘मृत्युको पासो’ बन्दै गएका छन् । सरकारी तथ्यांकले देखाएको डरलाग्दो चित्रअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेका छन् । यो वर्षभरिको हिसाब गर्दा झण्डै २ हजार ५ सय भन्दा बढी हुन आउँछ, जुन कुनै ठुलो महामारी वा प्राकृतिक विपत्तिभन्दा कम छैन ।
नेपालको सडक यात्रा सुरक्षित छैन, सरकारले सडक सुरक्षित बनाउन तथा सडक दुर्घटना न्यूनीकरणका लागि राष्ट्रिय सडक सुरक्षा नीतिको मस्यौदा एक वर्ष अघि नै तयार गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरी सुझावका लागि आफ्नो वेबसाइटमा समेत प्रकाशन गरेको थियो । तर यो नीति कार्यान्वयनका लागि कुनै पहलकदमी हुन सकेको देखिँदैन ।
नीतिको मस्यौदा तयार पारेपनि यसबारे कुनै छलफल नभएको भन्दै संघीय संसद्मा प्रश्न उठेको छ । मंगलबार भएको प्रतिनिधिसभाको बैठकमा पूर्वाधार विज्ञ एवं सांसद आशिष गजुरेलले उक्त नीतिको मस्यौदा तत्काल संसदमा छलफल गर्न माग गरे ।

प्रतिकृया दिनुहोस्