धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाले इन्धन खर्च र सवारीसाधन मर्मत शिर्षकमा आचाक्ली खर्च गरेको पाइएको छ ।
नगर प्रमुख पोतीलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी लगायतका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा इन्धन खर्च र सवारी साधन मर्मत खर्च भन्दै एक करोड १६ लाख रुपैयाँ बुझेको पाइएको हो ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले इन्धन खर्चमा झण्डै ८० लाख र सवारीसाधन मर्मत शिर्षकमा झण्डै ३६ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।
कार्यालयले कार्यालय प्रयोजन र पदाधिकारीका लागि भन्दै ७९ लाख ९५ हजार रुपैयाँ इन्धन र ३५ लाख ९९ हजार ९८६ रुपैयाँ सवारीसाधन मर्मत शिर्षकमा खर्च गरेको प्रतिवेदनमा भनिएको छ ।
महालेखापरीक्षकको कार्यालयले इन्धन खर्च र सवारीसाधन मर्मत खर्च शिर्षकमा जथाभावी खर्च गरिएको भन्दै स्रोतको अधिकतम उपयोग हुनेगरि मितव्यिता अवलम्बन गरि खरिद कार्य गर्न सुझाव समेत दिएको छ ।
कतिसम्म कार्यालयले इन्धन खर्च लेख्दा कुन गाडिमा के–कति प्रयोग भएको हो रु सवारीसाधन कहाँ गएर के मा प्रयोग गरिएको हो रु भन्ने जस्ता विवरण नखुलाएरै खर्च लेखि अनियमितता गरेको आशंका समेत व्यक्त गरेको छ ।
सवारीसाधन मर्मत शिर्षकमा पनि मर्मत कार्यको लागत अनुमान तयार गरि स्वीकृत नगरेको, फेरिएको पार्टपुर्जाको जिन्सी दाखिला नगरिएको जस्ता कारणले वास्तविक खर्च यकिन गर्न नसकिएको प्रतिवेदनमा भनिएको छ ।
बेलौरीमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका पोतिलाल चौधरी र प्रमुख प्रशाकीय अधिकृ तारादत्त अवस्थीले आफूखुसी खर्च गर्दै आएको आरोप समेत लाग्दै आएको थियो । जुन कुरालाई महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले समेत औल्याएको देखिएको छ ।

प्रतिकृया दिनुहोस्