धनगढी । दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदले जानकारी दिए । घाइते दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घरको गोठमा रहेको एक गाई र एक खसी मेरेको छ । यस्तै हावाहुरीका कारण जिल्ला सदरमुकाम खलङ्गा बङ्गाबगर स्थित लास्कु बस्ने कल्याणसिंह कुँवरको घरमा रुख खस्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–५ ठुलिसैन स्थित हावाहुरीको कारण बिजुलीको पोल र सल्लाका रुख ढलेका छन् ।

प्रतिकृया दिनुहोस्