धनगढी- बढ्दै गइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्न तथा विद्यालय जाँदा–आउँदा विद्यार्थीहरू सवारी दुर्घटनामा पर्ने विगतका घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीको “विद्यालय सुरक्षा कार्यक्रम” अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले कैलाली जिल्लाका ऐश्वर्य विद्या निकेतन र एक्सिस विद्याश्रम, साथै कञ्चनपुर जिल्लाका Little Buddha Academy र International Public School मा विद्यालयमै पुगेर विद्यार्थी बोक्ने सवारी चालक तथा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरेको हो। कार्यक्रममा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणमा चालकको भूमिकाबारे जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा १५० जना विद्यार्थी तथा सवारी चालकहरूको सहभागिता रहेको जानकारी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर जोराले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको वार्षिक कार्ययोजना अनुसार यो कार्यक्रम सुदूरपश्चिम प्रदेशभर सञ्चालन गरिने बताइएको छ

प्रतिकृया दिनुहोस्