धनगढी । सुदूरपश्चिम प्रदेश कै प्रख्यात बेहडाबाबा धाममा लाग्ने गंगा दशहरा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी १६ रामपुर स्थित बेहडाबाबा मन्दिर परिसरमा प्रत्येक बर्ष लाग्ने गंगा दशहरा यस बर्ष असार २ गते लाग्दै छ ।
यस बर्षको गंगा दशहरा मेलामा दर्शन गर्न १० देखि १५ लाख भक्तजनहरु आउने अपेक्षा गरिएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम राज जोशीले जानकारी दिए । उनले तयारी अन्तिम चरणमा पुगेको बताए । मन्दिर व्यवस्थापन,भक्तजनहरूलाई दर्शन गराउने व्यवस्था,खानेपानी,चर्पी,शिव गंगा देखि मन्दिर सम्म बत्तीको व्यवस्था गर्ने काम भएको उनको भनाई छ ।
शिव भगवान्को दर्शन गरिने गंगा दशहरामा असार १ गते राति १२ बजेदेखि दर्शन गराउने तयारी गरिएको जनाइएको छ । बेहडाबाबा मन्दिर सम्म पुग्ने बाटोमा धनगढी उपमहानगरपालिकाले पानी हालेर आवतजावतमा सहज बनाउने अध्यक्ष जोशीले बताए । गंगा दशहरामा सम्पुर्ण तयारी गरेकाले ढुक्क भएर मन्दिरसम्म आउन अध्यक्ष जोशीले सम्पुर्ण भक्तजनहरूलाई आग्रह गरे ।
बेहडाबाबामा लाग्ने गंगादशहरामा भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् । बेहडाबाबाको दर्शन गरेमा मनोकामना पुरा हुने विश्वास रहिआएको छ ।

प्रतिकृया दिनुहोस्